काठमाडौं – सरकारी दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आफ्ना ग्राहकहरूलाई आफ्नो नाममा दर्ता भएको सिमकार्ड मात्र प्रयोग गर्न अनुरोध गरेको छ। कम्पनीले एक औपचारिक सूचना जारी गर्दै यो आग्रह गरेको हो।
सूचनामा उल्लेख भएअनुसार, डिजिटल युगमा सिमकार्ड व्यक्तिको पहिचानको रूपमा स्थापित भएको छ। त्यसैले विभिन्न सरकारी तथा बैंकिङ सुविधाहरू प्राप्त गर्न आफ्नै नाममा दर्ता भएको सिमकार्ड प्रयोग गर्नु अत्यावश्यक छ।
हाल राष्ट्रिय परिचयपत्र बनाउने, बैंक अकाउन्ट खोल्ने वा प्रयोग गर्ने, ड्राइभिङ लाइसेन्सको लागि एप्लाई गर्ने, नागरिक एपमा रजिस्टर्ड हुने र सरकारी सेवाहरूमा आवश्यक हुने वन टाइम पासवर्ड (ओटीपी) प्रयोग गर्न आफ्नै नामको सिमकार्ड अनिवार्य गरिएको छ। यसका साथै, अनलाइन फारम भर्ने, पासपोर्ट बनाउने वा नागरिकताको कन्ट्याक्ट नम्बरको लागि पनि आफ्नै नामको सिमकार्ड आवश्यक पर्छ।
हाल प्रयोग गरिरहेको सिमकार्ड यदि आफ्नो नाममा दर्ता नभएको खण्डमा सेवा प्राप्त गर्न कठिनाइ उत्पन्न हुन सक्ने र व्यक्तिगत डेटाको सुरक्षामा पनि खतरा आउन सक्ने कुरा टेलिकमले स्पष्ट पारेको छ।
आफ्नो सिमकार्ड कुन नाममा दर्ता भएको छ भन्ने जानकारी पाउनको लागि नेपाल टेलिकमका प्रयोगकर्ताहरूले आफ्नो मोबाइलबाट *922# डायल गर्न सक्नेछन्।
यदि सिमकार्ड अरू कसैको नाममा दर्ता भएको पाइएमा, आवश्यक डकुमेन्टसहित नजिकैको नेपाल टेलिकमको अफिसमा गएर आफ्नो नाममा ट्रान्सफर गर्न वा नयाँ सिमकार्ड लिन सकिने व्यवस्था कम्पनीले गरेको छ।