काठमाण्डौं — अन्तरिक्षमा बढ्दो मलबा (पृथ्वीको वरिपरि घुमिरहेका काम नलाग्ने वस्तुहरू) र स्याटेलाइट ठोक्किने जोखिमलाई ध्यानमा राख्दै अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले आफ्नो इन्टरनेट सेवा स्टारलिंक अन्तर्गत सञ्चालनमा रहेका हजारौँ स्याटेलाइटको कक्ष तल झार्ने निर्णय गरेको छ।
कम्पनीका अनुसार सन् २०२६ भित्र लो–अर्थ अर्बिट (पृथ्वीको नजिकको कक्ष) मा रहेका करिब ४४ सय स्टारलिंक स्याटेलाइटलाई हालको उचाइभन्दा तल झारिनेछ। अहिले ती स्याटेलाइट करिब ५५० किलोमिटर उचाइमा रहेका छन्। नयाँ योजनाअनुसार ती स्याटेलाइटलाई करिब ४८० किलोमिटर उचाइको कक्षमा सारिनेछ।
स्पेसएक्सले स्याटेलाइटको कक्ष तल झार्दा अन्तरिक्षमा रहेका अन्य स्याटेलाइट वा मलबासँग ठोक्किने सम्भावना कम हुने जनाएको छ। साथै सेवा अवधि पूरा भएपछि स्याटेलाइट आफैँ पृथ्वीको वायुमण्डलमा छिटो प्रवेश गरी जलेर नष्ट हुने भएकाले दीर्घकालीन मलबा बन्ने जोखिम पनि घट्ने कम्पनीको भनाइ छ।
पछिल्ला वर्षहरूमा लो–अर्थ अर्बिटमा स्याटेलाइटको संख्या तीव्र रूपमा बढ्दै गएको छ। यससँगै साना–ठूला धातुका टुक्रा, बिग्रिएका स्याटेलाइट र रकेटका अवशेषका कारण अन्तरिक्ष ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको अन्तरिक्ष विज्ञहरूले बताउँदै आएका छन्।
स्टारलिंक विश्वका धेरै देशमा उच्चगति इन्टरनेट सेवा विस्तार गरिरहेको परियोजना हो। तर ठूलो संख्यामा स्याटेलाइट प्रक्षेपण गर्दा अन्तरिक्ष सुरक्षामा असर पर्न सक्ने विषयमा समय–समयमा प्रश्न उठ्दै आएका छन्। यस्तो अवस्थामा स्याटेलाइटको कक्ष व्यवस्थापन गर्ने स्पेसएक्सको पछिल्लो निर्णयलाई अन्तरिक्ष सुरक्षा सुधारतर्फको कदमका रूपमा हेरिएको छ।
कम्पनीले आगामी दिनमा पनि नयाँ स्याटेलाइट प्रक्षेपण जारी राख्ने भए पनि अन्तरिक्ष मलबा व्यवस्थापन र टक्कर न्यूनीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने जनाएको छ।