काठमाडौँ— अमेरिकी मेमोरी तथा स्टोरेज निर्माता Micron Technology ले लामो समयदेखि उपभोक्ता बजारमा परिचित रहेको आफ्नो ‘Crucial’ ब्राण्ड बन्द गर्ने घोषणा गरेको छ।
कम्पनीका अनुसार, विश्वभर तीव्र भएको एआई–माग र डाटा–सेन्टरका लागि आवश्यक उच्च क्षमताको मेमोरी उत्पादनलाई प्राथमिकता दिनुपर्ने भएकाले उपभोक्ता–उन्मुख SSD र RAM लाई क्रमशः हटाउने निर्णय गरिएको हो।
उपभोक्ता बजारबाट बाहिरिनुको कारण
Micron ले हालको बजार संरचना परिवर्तनलाई मुख्य आधार मानेको छ।
एआई सर्वर, HBM (High Bandwidth Memory), र एंटरप्राइज ग्रेड DRAM/SSD को माग असाध्यै बढिरहेको अवस्थामा, साधारण उपभोक्ता प्रयोगका लागि बनाइने उत्पादनले कम्पनीलाई दीर्घकालमा पर्याप्त फाइदा नदिने निष्कर्ष आएको बताइएको छ।
उपभोक्ता स्तरका SSD र मेमोरीको बजार मूल्य कम छ, नाफा पनि सीमित, त्यसैले कम्पनीले आफ्नो स्रोत र उत्पादन क्षमता सीधा उच्च मूल्य वर्गतिर मोड्ने रणनीति अपनाएको हो।
Crucial ब्राण्ड कुन अवस्थामा बन्द हुनेछ?
Micron ले खुद्रा बजारमा उपलब्ध Crucial का उत्पादनहरू फेब्रुअरी २०२६ पछि चरणबद्ध रूपमा हटाइने जनाएको छ।
हालका SSD, DDR मेमोरी र अन्य सामानहरूको वारन्टी सेवा भने यथावत उपलब्ध रहन्छ।
खुद्रा बजारबाट उत्पादन हटाए पनि, कम्पनीले आफ्नो प्रिमियम श्रेणीका DRAM, AI सान्दर्भिक मेमोरी र डाटा सेन्टर उन्मुख समाधान निरन्तर आपूर्ति गर्नेछ।
PC प्रयोगकर्तालाई कसरी असर पर्छ?
Crucial धेरै प्रयोगकर्ताको रुचिको ब्राण्ड थियो । मूल्य सुलभ, सहज उपलब्धता र गुणस्तर स्थिर थियो।
ब्राण्ड बन्द भएपछि निम्न प्रभाव देखिन सक्ने अनुमान विश्लेषकहरूले गरेका छन् :
- बजेट–श्रेणीका RAM/SSD का विकल्प घट्ने
- बजारमा मूल्य वृद्धि हुनसक्ने
- DIY PC निर्माण तथा अपग्रेड गर्ने प्रयोगकर्ताले नयाँ विकल्प खोज्नुपर्ने
PC हार्डवेयर बजारमा Crucial को स्थान वर्षौँदेखि स्थिर थियो। यसको अनुपस्थितिले मध्यम र तल्लो मूल्य वर्गमा रिक्तता सिर्जना गर्नेछ।
AI र डाटा सेन्टरतर्फ किन यति ठूलो मोड?
विश्वभरका प्राविधिक कंपनिले एआईका लागि आवश्यक मेमोरी र स्टोरेज समाधान विस्तार गरिरहेका छन्।
AI सर्वर र क्लाउड–इन्फ्रास्ट्रक्चरमा प्रयोग हुने HBM, GDDR, Enterprise SSD जस्ता उच्च क्षमताका उत्पादनको माग तीव्र छ।
Micron ले यही कारण बताउँदै, “दीर्घकालीन प्रविधि दिशा स्पष्ट भएकाले सबै स्रोत एआई केन्द्रित मेमोरी उत्पादनमा केन्द्रित गरिनेछ,” भन्ने रणनीति अघि सारेको हो।
Crucial ब्राण्ड २९ वर्षदेखि उपभोक्तामैत्री मेमोरी बजारको प्रमुख नाम थियो।
तर बिश्वको प्रविधि बजार एआई केन्द्रित मोडमा गएको परिस्थितिले Micron लाई आफ्नो प्राथमिकता पूर्ण रूपमा पुनर्गठन गर्न बाध्य बनाएको हो ।