काठमाडौँ— विश्वका ठूला सामाजिक सञ्जाल कम्पनीहरू Meta, TikTok, Snapchat र YouTube ले किशोर किशोरी तथा युवाको मानसिक स्वास्थ्यमा गम्भीर असर पारेको आरोपमा व्यापक कानुनी कारबाहीको सामना गरिरहेका छन्।
अमेरिकी अदालतमा दायर वृहद् सामूहिक मुद्दामा अभिभावक, विद्यालय तथा स्थानीय निकायहरूले यी कम्पनीले आफ्नो प्लेटफर्म सुरक्षित बनाउन बेवास्ता गरेको दाबी गरेका छन्। अदालतमा पेश भएका विवरण अनुसार, सामाजिक सञ्जालका एल्गोरिदमले प्रयोगकर्तालाई लगातार सामग्री हेर्न प्रेरित गर्ने र विशेषगरी किशोर–किशोरीलाई अनियन्त्रित रूपमा प्लेटफर्ममा बाँधिराख्ने डिजाइन बनाइएका छन्। अत्यधिक प्रयोगले तनाव, आत्मग्लानी, डिप्रेसन र आत्महानिसम्बन्धी जोखिम बढाएको अभिभावकको दाबी छ।
दर्ता भएका उजुरीहरूमा भनिएको छ कि कम्पनीहरूलाई आफ्ना प्लेटफर्मले युवा प्रयोगकर्तामा मानसिक स्वास्थ्यसम्बन्धी समस्या निम्त्याउन सक्छ भन्ने तथ्य थाहा थियो, तर उनीहरूले जोखिमबारे चेतावनी नदिएको, आवश्यक सुरक्षा उपाय नअपनाएको र समस्याका प्रमाणहरू आन्तरिक रूपमा दबाएको आरोप लगाइएको छ।
यो मुद्दा अहिले अमेरिकामा बहुउद्योगिक (multidistrict litigation) प्रकृतिमा अघि बढिरहेको छ, जसमा सयौँ उजुरी एउटै प्रक्रियामा समायोजन गरिएको छ। मुद्दा सफल भएमा सामाजिक सञ्जाल कम्पनीहरूले आफ्नो प्लेटफर्म डिजाइन, बाल–सुरक्षा नीतिहरू, एल्गोरिदम पारदर्शिता तथा प्रयोगकर्ता संरक्षणका मापदण्ड फेरबदल गर्नुपर्ने सम्भावना हुनेछ।
प्राविधिक नवप्रवर्तनको तीव्र विस्तारसँगै डिजिटल प्लेटफर्मको जिम्मेवारीबारे उठिरहेको प्रश्नले विश्वभर बहस सिर्जना गरेको छ। विज्ञहरूका अनुसार, सामाजिक सञ्जालको प्रयोग नियन्त्रणबिहीन रूपमा बढ्दै जाँदा युवा पुस्ताको मानसिक सुरक्षाका लागि कडा नीति, नियमन र पारदर्शिता अब अनिवार्य रूपमा आवश्यक देखिन थालेको छ।