काठमाण्डौं — सन् २०२५ लाई संयुक्त राष्ट्रसंघले क्वान्टम विज्ञान तथा प्रविधिको अन्तर्राष्ट्रिय वर्ष घोषणा गरेको सन्दर्भमा टेलिकम उद्योगमा पनि यसको प्रभाव स्पष्ट देखिएको छ। यद्यपि व्यावसायिक रूपमा प्रयोग गर्न मिल्ने क्वान्टम कम्प्युटर आउन अझै केही वर्ष लाग्ने अनुमान छ, टेलिकम क्षेत्र भने त्यसको सम्भावित असरका लागि अहिले नै तयारीमा जुटेको देखिन्छ।
सबैभन्दा ठूलो चिन्ता साइबर सुरक्षासँग जोडिएको छ। विज्ञहरूका अनुसार भविष्यमा शक्तिशाली क्वान्टम कम्प्युटरले हाल प्रयोग भइरहेका धेरैजसो एन्क्रिप्सन प्रविधि तोड्न सक्ने सम्भावना छ। अहिले इन्टरनेट र डिजिटल प्रणालीमा प्रयोग भइरहेका सुरक्षा कोडहरू सामान्य कम्प्युटरले सजिलै तोड्न सक्दैनन्। तर भविष्यमा विकसित हुने शक्तिशाली क्वान्टम कम्प्युटरले यस्ता सुरक्षा प्रणाली भङ्ग गर्न सक्ने सम्भावना देखिएकाले टेलिकम उद्योग चिन्तित बनेको छ।
यद्यपि यो अवस्था आउन अझै समय लाग्ने बताइए पनि, अहिले नै सुरक्षा सुदृढ नगरे भविष्यमा ठूलो जोखिम निम्तिन सक्ने चेतावनी टेलिकम उद्योगभित्र उठ्न थालेको छ। विशेषगरी अहिले सुरक्षित रूपमा सञ्चित डाटा भविष्यमा डिक्रिप्ट गरिन सक्ने सम्भावनाले टेलिकम कम्पनीहरूलाई सतर्क बनाएको छ।
सुरक्षा चुनौतीसँगै नयाँ व्यवसायिक अवसर
क्वान्टम कम्प्युटिङको जोखिमलाई टेलिकम कम्पनीहरूले केवल चुनौतीका रूपमा मात्र होइन, नयाँ व्यवसायिक अवसरका रूपमा पनि हेर्न थालेका छन्। आफ्नो नेटवर्क सुरक्षित राख्ने कामसँगै टेलिकम कम्पनीहरूले ग्राहक र अन्य व्यवसायका लागि क्वान्टम–सुरक्षित सञ्चार सेवा उपलब्ध गराउने नयाँ सम्भावना पनि देख्न थालेका छन्।
यही क्रममा ओरेन्ज बिजनेसले सन् २०२५ को जुनमा ‘क्वान्टम डिफेन्डर’ नामको सेवा सार्वजनिक गरेको छ। यस सेवामार्फत कम्पनीहरूले भविष्यका क्वान्टम जोखिमबाट जोगिन प्रयोग गर्न सकिने सुरक्षा उपायबारे परामर्श पाउँछन्। साथै, क्वान्टम कम्प्युटरको असर सहन सक्ने नयाँ प्रकारका सुरक्षा प्रविधि र अत्यन्त सुरक्षित सञ्चार प्रणाली पनि यसमा समेटिएका छन्।
यस्तै, टेलेफोनिका ले मोबाइल वर्ल्ड कंग्रेस बार्सिलोनामा क्वान्टम सुरक्षित सञ्चार प्रविधिका विभिन्न प्रदर्शन गरेको छ। कम्पनीले क्वान्टम कम्प्युटिङ, सेन्सिङ र सञ्चारसम्बन्धी अनुसन्धानका लागि छुट्टै ‘सेंटर अफ एक्सिलेन्स’ स्थापना गरेको घोषणा पनि गरेको छ।
उपकरण निर्माता कम्पनीहरू पनि यस दौडमा सक्रिय देखिएका छन्। नोकिया ले उपग्रहमार्फत QKD परीक्षण गर्न साझेदारीको घोषणा गर्नुका साथै नेटवर्क सुरक्षाका अन्य पक्षमा पनि काम गरिरहेको जनाएको छ।
QKD को भूमिका अझै बहसमा
QKD प्रविधिले क्वान्टम भौतिकशास्त्रका सिद्धान्त प्रयोग गरेर एन्क्रिप्सन की तयार र वितरण गर्छ। यसलाई पोस्ट क्वान्टम क्रिप्टोग्राफीभन्दा सुरक्षित मान्ने मत भए पनि, यसको प्रयोग कति र कहाँ आवश्यक हुन्छ भन्ने विषयमा उद्योगभित्र अझै छलफल जारी छ।
नोकियाका क्वान्टम–सुरक्षित नेटवर्क प्रमुख मार्टिन चार्बोनोका अनुसार QKD मात्रै एकमात्र समाधान होइन। क्वान्टम प्रविधि प्रयोग नगरी पनि नेटवर्क सुरक्षित बनाउने उपाय उपलब्ध छन्। तर QKD क्वान्टम सञ्चारको पहिलो व्यावहारिक प्रयोग भएकाले यसको भूमिका भविष्यमा पनि रहने संकेत देखिन्छ।
एशियाली बजारमा क्वान्टम गतिविधि तीव्र
एशियाली टेलिकम अपरेटरहरू पनि क्वान्टम परियोजनामा सक्रिय देखिएका छन्। एसटीएल पार्टनर्स को हालैको अध्ययन अनुसार दक्षिण कोरिया टेलिकम क्षेत्रमा क्वान्टम प्रविधि प्रयोगमा सबैभन्दा अगाडि देखिएको छ। त्यहाँको केटी कर्प ले PQC र QKD मिलाएर बनाइएको हाइब्रिड क्वान्टम सुरक्षित नेटवर्कमार्फत आफ्नो ५G नेटवर्कका १५ भन्दा बढी नोड सुरक्षित गरिसकेको जनाएको छ।
यसै वर्ष चाइना मोबाइल, चाइना टेलिकम र सिङ्टेल जस्ता कम्पनीहरूले पनि PQC र QKD सम्बन्धी विभिन्न परियोजनाको घोषणा गरेका छन्।
सुरक्षाभन्दा बाहिर : नेटवर्क योजना र डाटा सेन्टर
क्वान्टम कम्प्युटिङलाई केवल सुरक्षाका लागि मात्र होइन, नेटवर्क योजना र अनुकूलन का लागि पनि प्रयोग गर्ने सम्भावना खोजिँदै छ। भोडाफोन ले बेलायतको ओर्का कम्प्युटिङसँग सहकार्य गर्दै मोबाइल रेडियो र ब्रडब्यान्ड नेटवर्कको योजना र सुधारमा क्वान्टम कम्प्युटिङ प्रयोग गर्ने सम्भावना अध्ययन गरिरहेको छ।
यसै क्रममा ‘क्वान्टम डाटा सेन्टर एलायन्स’ गठन गरिएको छ, जसमा एनटीटी र सिस्कोजस्ता कम्पनी सहभागी छन्। यस समूहले भविष्यमा क्वान्टम कम्प्युटरलाई डाटा सेन्टरभित्र कसरी नेटवर्कमा जोड्ने भन्ने विषयमा काम गरिरहेको छ।
अझै प्रारम्भिक चरणमै क्वान्टम नेटवर्क
यद्यपि गतिविधि बढे पनि क्वान्टम नेटवर्किङ अझै प्रारम्भिक चरणमै छ। बेलायती टेलिकम कम्पनी बीटी का अनुसार व्यावहारिक क्वान्टम नेटवर्क देखिन अझै पाँचदेखि छ वर्ष लाग्न सक्छ। यसको संरचना कस्तो हुने भन्ने विषयमा समेत स्पष्टता आउन बाँकी छ।
समग्रमा, २०२५ मा टेलिकम उद्योग र क्वान्टम प्रविधिको सम्बन्ध अझै विकासकै क्रममा देखिन्छ। तर एउटा कुरा स्पष्ट हुँदै गएको छ, क्वान्टम अब भविष्यको विषय मात्र होइन, आजैबाट तयारी गर्नुपर्ने यथार्थ बनेको छ। टेलिकम सुरक्षादेखि नेटवर्क योजना र नयाँ सेवासम्म, क्वान्टम प्रविधिले उद्योगको दिशा क्रमशः बदल्ने संकेत देखिन थालेको छ।