काठमाण्डौं — दश वर्षअघि बेलायतको एउटा गाउँको पबमा तत्कालीन प्रधानमन्त्री डेभिड क्यामरुन र चिनियाँ राष्ट्रपति सी जिनपिङ सँगै बियर पिइरहेको तस्वीर अहिले फरक भू–राजनीतिक युगको प्रतीक बनेको छ। त्यतिबेला स्वागत पाइरहेका चिनियाँ शासक र ठूला कम्पनीहरू आज बेलायत तथा यूरोपमा शंकाको दृष्टिले हेरिन थालेका छन्।
तस्वीर खिचिएको पाँच वर्ष नबित्दै बेलायत सरकारले चिनियाँ 5जी उपकरण आपूर्तिकर्ता हुवावे र जेडटिई माथि प्रतिबन्ध लगायो। ती कम्पनीका उपकरण २०२७ पछि बेलायतको 5जी नेटवर्कबाट पूर्ण रूपमा हटाउने निर्णय गरिसकेको छ ।
बेलायत मात्र होइन, अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि यूरोपका अन्य देशहरूले पनि चिनियाँ कम्पनीप्रति कडाइ थाले। रोमानिया र स्विडेनले भविष्यमा दूरसञ्चार कम्पनीलाई चिनियाँ आपूर्तिकर्ताको उपकरण प्रयोग गर्न रोक लगाइसकेका छन्। चिन्ता एउटै छ—चिनियाँ सरकारले ती कम्पनीको सफ्टवेयर प्रयोग गरेर संवेदनशील सञ्चारमा निगरानी गर्न सक्ने वा नेटवर्क नै अवरुद्ध गर्न सक्ने सम्भावना। हुवावेले यो आरोप अस्वीकार गर्दै आएको भए पनि सावधानीका आधारमा कडाइ गरिएको हो।
तर सबै देशले एउटै नीति अपनाएका छैनन्। यूरोपको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनीले पछिल्ला वर्षहरूमा हुवावेमाथि खासै रोक लगाएको छैन, जसले यूरोपियन संघलाई असन्तुष्ट बनाएको छ। ईयूको ‘5जी टुलबक्स’ले ‘उच्च जोखिम भएका आपूर्तिकर्ता’बाट टाढा रहन सिफारिस गरे पनि जर्मनीले त्यो सुझाव बेवास्ता गरेको देखिन्छ। जर्मन टेलिकम कम्पनीहरूको दबाबपछि सरकारले २०२९ अघि व्यवस्थापन प्रणालीको केही भाग फेर्ने सर्तमा रेडियो एक्सेस नेटवर्कमा हुवावे राख्न अनुमति दिएको थियो।
यो निर्णय आलोचकहरूलाई स्वीकार्य भएन। उनीहरूका अनुसार व्यवस्थापन प्रणाली मात्र हटाउँदा सुरक्षा जोखिम हट्दैन। पछिल्लो घटनाक्रमले हुवावेको अवस्था थप कमजोर बनाएको छ। जर्मनीको दूरसञ्चार नियामकले हालै सार्वजनिक गरेको कागजातमा सम्पूर्ण रेडियो एक्सेस नेटवर्कलाई नै ‘अत्यावश्यक पूर्वाधार’को रूपमा वर्गीकृत गरेको छ। साथै, जर्मनीका ठूला मोबाइल अपरेटरहरू हुवावेमाथि निर्भर रहेकाले उपकरण फेर्न करदाताको पैसा प्रयोग गर्ने विषयमा समेत छलफल भएको बताइएको छ।
हुवावेका यूरोपेली प्रतिस्पर्धी नोकिया पनि खुलेर बोल्न थालेको छ। केही हप्ताअघि नोकियाका अमेरिकी प्रमुख कार्यकारी अधिकृत जस्टिन होटार्डले चीनले आफ्नो कम्पनी र एरिक्सनलाई चिनियाँ बजारको तीन प्रतिशतभन्दा कममा सीमित गरेको अवस्थामा यूरोपमा हुवावेमाथि निर्भर रहनु उपयुक्त नहुने बताएका थिए।
यसबीच जर्मनीको डोएचे टेलिकम र भोडाफोनले वैकल्पिक आपूर्तिकर्ता भित्र्याउन थालेका छन्। डोएचे टेलिकमले करिब ३ हजार साइटमा हुवावेको सट्टा नोकियाको उपकरण प्रयोग गर्न थालेको छ भने भोडाफोनले सामसुङसँग सहकार्य शुरू गरेको छ। कडा नियम आउने अनुमान गर्दै कम्पनीहरूले जोखिम बाँड्ने रणनीति अपनाएको संकेत मानिन्छ।
6जीतर्फ संकेत
जर्मन चान्सलर फ्रेडरिख मर्जले गत महिना जर्मन सञ्चारमाध्यमलाई चिनियाँ कम्पनीलाई 6जी प्रविधिका उपकरण बेच्न नदिइने बताएका थिए। सन् २०३० तिर 6जी शुरू हुने अनुमान छ। जर्मनीको उदाहरण अन्य ईयू देशले पछ्याउने हो भने यूरोपको 6जी बजार चिनियाँ कम्पनीका लागि बन्द हुने सम्भावना बढेको छ। अब ठूलो प्रश्न 5जीमा उनीहरू कति समयसम्म टिक्न पाउँछन् भन्नेमा केन्द्रित भएको छ।