काठमाण्डौं — विश्व दूरसञ्चार उद्योग २०२६ मा प्रवेश गर्दै गर्दा प्रविधि, लगानी र सञ्चालन मोडलमा ठूला परिवर्तन देखिने संकेत स्पष्ट भएका छन्। 5जी विस्तारसँगै कृत्रिम बुद्धिमत्ता, नेटवर्क स्वचालन र साइबर सुरक्षालाई केन्द्रमा राखेर टेलिकम कम्पनीहरूले रणनीति तय गर्न थालेका छन्।
विशेषगरी २०२६ मा टेलिकम कम्पनीहरूले कृत्रिम बुद्धिमत्ता (एआई) लाई प्रयोगात्मक चरणबाट निकालेर नियमित सञ्चालनमा ल्याउने तयारी गरेका छन्। नेटवर्क अनुगमन, ट्राफिक व्यवस्थापन, सेवा गुणस्तर मापन र समस्या समाधानमा एआईको प्रयोग बढ्ने अपेक्षा गरिएको छ। यसले लागत घटाउने र सेवा स्थिरता सुधार्ने विश्वास उद्योगको छ।
सुरक्षा अर्को प्रमुख चिन्ताको विषय बनेको छ। नेटवर्क र डाटामाथि साइबर आक्रमणको जोखिम बढ्दै गएपछि २०२६ मा धेरै टेलिकम कम्पनीहरूले सुरक्षामा लगानी बढाउने योजना बनाएका छन्। नियामक निकायको कडाइसँगै सुरक्षित नेटवर्क सञ्चालन अब विकल्प नभई अनिवार्य बन्दै गएको छ।
यससँगै स्वचालित (अटोनोमस) नेटवर्कतर्फको यात्रा पनि तीव्र हुने देखिन्छ। नेटवर्कले आफैं समस्या पहिचान गर्ने, समाधान लागू गर्ने र सेवा निरन्तरता कायम गर्ने प्रणालीमा टेलिकम क्षेत्र अघि बढ्दैछ। यसले मानव हस्तक्षेप घटाउँदै सञ्चालनलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
यद्यपि 5जी अझै विस्तारकै चरणमा भए पनि २०२६ मा ६जी प्रविधिको तयारीले गति लिने संकेत देखिएको छ। मापदण्ड तय गर्ने, अनुसन्धान बढाउने र दीर्घकालीन लगानी योजना बनाउने काममा कम्पनी र सरकार दुवै सक्रिय हुनेछन्। 6जीलाई २०३० आसपास व्यावसायिक रूपमा सुरु गर्ने लक्ष्य राखिएको छ।
क्लाउड प्रविधि, एज कम्प्युटिङ र खुला एपीआई प्रयोग गरेर नयाँ सेवा र आम्दानीका स्रोत खोज्ने प्रयास पनि २०२६ मा बढ्ने देखिन्छ। परम्परागत भ्वाइस र डाटामात्रमा सीमित टेलिकम व्यवसाय अब डिजिटल सेवा प्रदायकतर्फ रूपान्तरण हुने चरणमा पुगेको छ।
२०२६ टेलिकम क्षेत्रका लागि एआईको व्यावहारिक प्रयोग, कडा सुरक्षा व्यवस्था, स्वचालित नेटवर्क र 6जी तयारीको वर्ष बन्ने संकेत देखिएको छ। यी परिवर्तनले आगामी वर्षहरूमा दूरसञ्चार सेवाको स्वरूप नै बदल्ने अपेक्षा गरिएको छ।